जापानी अटो निर्माता होन्डाले मित्सुबिसी ट्राइटनमा आधारित नयाँ पिकअप ट्रक सन् २०२८ मा दक्षिणपूर्वी एसियाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
होन्डा र मित्सुबिसी मोटर्सले यसका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुवै कम्पनीले अक्टोबर २२, २०२६ मा नयाँ पिकअप विकास गर्ने सहमति गरेका हुन् । यो दुई कम्पनीबीच एकअर्काको उत्पादन लाइनअपलाई पूरक बनाउने उद्देश्यले अघि बढाइएको पहिलो सहकार्य हो ।
नयाँ पिकअप मित्सुबिसी ट्राइटनको प्लेटफर्ममा आधारित हुनेछ । ट्राइटन बलियो ल्याडर–फ्रेम च्यासिसमा निर्माण गरिएको एक टन क्षमताको पिकअप हो, जुन दक्षिणपूर्वी एसियाली बजारमा लोकप्रिय छ ।
होन्डाका लागि यो सहकार्यले पिकअप ट्रकको बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने अवसर प्रदान गर्नेछ । मित्सुबिसीले भने थाइल्यान्डस्थित आफ्नो कारखानाको उत्पादन क्षमता उपयोग बढाउन सक्नेछ ।
हालको मित्सुबिसी ट्राइटन विभिन्न क्याब कन्फिगरेसनमा उपलब्ध छ । बजार र भेरियन्टअनुसार यसमा २.४ लिटर डिजेल इन्जिन तथा फरक ड्राइभट्रेन विकल्प पाइन्छन् ।
यद्यपि, होन्डाको नयाँ पिकअपमा कुन इन्जिन, ट्रान्समिसन र फिचर उपलब्ध हुनेछन् भन्ने विवरण सार्वजनिक गरिएको छैन ।