चिनियाँ अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेकोले आफ्नो नयाँ क्रसओभर एसयूभी ओमोडा एक्सको ग्लोबल डेब्यु गरेको छ । चीनको वुहुमा अक्टोबर २० मा आयोजित ‘ओमोडा एक्स नाइट’ कार्यक्रम गर्दै नयाँ मोडल सार्वजनिक गरेको हो ।
ओमोडा एन्ड जेको इन्टरनेसनल युजर समिटअन्तर्गत आयोजित कार्यक्रममा नयाँ गाडीसँगै फेसन, युवा संस्कृति, संगीत र विश्वभरका ग्राहकको अनुभवलाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ओमोडा एन्ड जेको इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शान सुले कम्पनीको विश्वव्यापी विस्तारबारे जानकारी दिएका थिए । उनका अनुसार कम्पनीले साढे तीन वर्षको अवधिमा विश्व बजारमा १४ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।
ओमोडा एक्सले कम्पनीको ‘क्रसभोलुसन’ डिजाइन अवधारणालाई निरन्तरता दिएको छ । यसमा ‘साइबर मेका’ र जियोमेट्रीक एस्थेटिक्स डिजाइन शैली प्रयोग भएको कम्पनीले जनाएको छ । स्पोर्टी क्रसओभर स्वरूप र फरक डिजाइन पहिचानमार्फत नयाँ पुस्ताका ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित नयाँ मोडल ल्याउन लागेको अनुमान गर्न सकिन्छ ।
नयाँ मोडल देखाएपनि कम्पनीले ओमोडा एक्समा रहने पावरट्रेन, ब्याट्री क्षमता, रेन्ज, मूल्य र बजारमा बिक्री सुरु गर्ने मितिबारे केही जानकारी दिएको छैन ।
कार्यक्रममा विश्वव्यापी बजार अनुसन्धान तथा परामर्श कम्पनी कान्टरले युवा संस्कृतिसम्बन्धी पछिल्ला प्रवृत्तिबारे प्रस्तुति दिएको थियो । विभिन्न देशका मिस वल्र्ड प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
त्यसैगरी, तीन जना ओमोडा एन्ड जेको प्रयोगकर्ताले आफ्ना गाडीलाई व्यक्तिगत रुची र शैलीअनुसार परिमार्जन गरेको अनुभव सुनाएका थिए । कार्यक्रमको अन्त्यमा ब्रान्डको थिम गीत पहिलोपटक सार्वजनिक गरिएको थियो, जसमा विभिन्न देशका ग्राहकहरू सहभागी भएका थिए ।
कम्पनीले नयाँ गाडी सार्वजनिक गर्नुका साथै ग्राहकको जीवनशैली, व्यक्तिगत पहिचान र सांस्कृतिक विविधतालाई ब्रान्डसँग जोड्ने प्रयास गरेको छ । ओमोडा एक्सको विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै कम्पनीले क्रसओभर सेग्मेन्टमा आफ्नो उपस्थिति थप विस्तार गर्ने संकेत दिएको देखिन्छ ।