हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन बनेपछि सवारी आवतजावत सहज भएको छ।
भासिएको पुलको विकल्पमा ह्युमपाइप राखेर बनाइएको डाइभर्सनबाट अहिले साना–ठूला सबै प्रकारका सवारीसाधन निर्वाध चल्न थालेका छन्।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार एक हप्ताअघि नै सार्वजनिक सवारी सञ्चालन सुरु भइसकेको छ।
यसले स्थानीय बासिन्दा र छोटो दूरी हुँदै मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत दिएको छ।
गत मंसिर ५ गते तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको अनुगमन गर्दै पुनर्निर्माण छिटो अघि बढाउन निर्देशन दिएका थिए।
सोही निर्देशनपछि निर्माण कम्पनीले तत्काल अस्थायी आवतजावतका लागि डाइभर्सन तयार गरेको हो।
यसअघि स्थानीयले बनाएको बाँसको पुल प्रयोग गर्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।
बर्खायाममा पुल बग्दा डुंगाबाट नदी पार गर्नुपर्ने अवस्था थियो।
१४ वर्षदेखि अलपत्र रहेको पुल निर्माण अहिले अन्तिम चरणमा पुगेको छ।
निर्माण कम्पनीका अनुसार दैनिक ४०–५० जना कामदार फिनिसिङ र मर्मतमा खटिएका छन् र आगामी असार मसान्तसम्म पुलबाटै सवारी सञ्चालन गर्ने लक्ष्य छ।
पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको वर्षौँदेखिको कष्टकर यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ।
Post Views: 18