काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै रक्तदान अभियान सञ्चालन गरिएको छ । अटो शोको व्यस्तताबीच सामाजिक उत्तरदायित्वलाई समेत जोड दिँदै विभिन्न लायन्स क्लबले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहयोगमा सुरु भएको अभियान भदौ ९ गतेदेखि सञ्चालनमा छ । आयोजकका अनुसार भदौ १४ गतेसम्म रक्तदान गर्न सकिनेछ ।
रक्त संकलन तथा व्यवस्थापनका लागि त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको छ । अभियानमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड, समर्पण, टिम सारथी, युनिफाइड नेसन, बनस्थली, युनाइटेड सेन्टर, ग्लोबल युथ, जावलाखेल फ्रेन्डस्, योङ स्टार, निरिका र अटो सोसियल फ्रेन्डस्ले सहभागिता जनाएका छन् ।
अटो शोमा सहभागी हुने दर्शक, व्यवसायी तथा अन्य आगन्तुकलाई पनि रक्तदानमा सहभागी हुन आयोजकले आग्रह गरेको छ । संकलित रगत आवश्यक बिरामीको उपचारमा उपयोग हुने भएकाले अभियानलाई सामाजिक सेवासँग जोडिएको आयोजकको भनाइ छ ।
यसरी, सवारीसाधन तथा अटोमोबाइल क्षेत्रको प्रदर्शनीसँगै नाडा अटो शो परिसरमा रक्तदानमार्फत सामाजिक सेवाको गतिविधिलाई पनि अघि बढाइएको छ।