काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौंबाट व्यक्तिगत रूपमा राहत सामग्री लिएर जाने क्रम बढेपछि टोखा–छहरे–त्रिशूली सडकखण्डमा सवारी चाप बढेको छ ।
पूर्वसमन्वयविना साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक जाम भएको हो । यसले आपत्कालीन बिरामी बोकेका एम्बुलेन्स तथा नेपाल सरकारका उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनलाई समेत गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ ।
विपद्को अवस्थामा जोखिमयुक्त भूगोलमा आवश्यक पूर्वतयारी र समन्वयविना पुग्दा राहत लिएर जाने स्वयं व्यक्तिको सुरक्षामा समेत जोखिम बढ्ने देखिएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने कार्य रोक्न आग्रह गरेको छ । राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकारी संयन्त्रसँग आवश्यक समन्वय गरेर मात्र प्रभावित क्षेत्रमा जान सचिवालयले अनुरोध गरेको हो ।
सचिवालयका अनुसार आफूखुसी राहत सामग्री लिएर जाँदा सडकमा सवारी जाम हुनुका साथै उद्धार तथा राहत वितरणको कामसमेत थप अव्यवस्थित र जोखिमपूर्ण बन्न सक्छ ।
अबदेखि राहत वितरण वा उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी पूर्वसमन्वय गर्नुपर्नेछ । समन्वयपछि मात्र राहत सामग्री हस्तान्तरण वा उद्धार कार्यमा परिचालन हुन सचिवालयले आग्रह गरेको छ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने नागरिक तथा सामाजिक संस्थाहरूको तत्परता प्रशंसनीय रहेको उल्लेख गर्दै सचिवालयले सहयोगी भावना कायम राख्दै सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर मात्रै प्रभावित क्षेत्रमा जान आग्रह गरेको छ ।