म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिकालाई जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले रुमदेखि ताराखोलातर्फको सडक सुधारको काम अघि बढाएको हो।
विसं २०८२ असार ४ गते २ करोड ११ लाख ३० हजार रुपैयाँमा सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ।
ठेक्काअन्तर्गत सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाका अनुसार हालसम्म करिब १० प्रतिशत भौतिक प्रगति भएको छ।
आयोजनाको अवधि १८ महिनाको रहेको छ। रुम खण्डमा करिब एक किलोमिटर सडक फराकिलो बनाइ नाली, पर्खाल, ढलान र कालोपत्र गरिनेछ।
गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन) का अनुसार यो सडक मालिका, धवलागिरि र मंगला गाउँपालिकाका बासिन्दाका लागि बागलुङ हुँदै बुटवल पुग्ने छोटो र सहज मार्ग भएकाले प्राथमिकतामा राखिएको हो।
यस क्षेत्रका अन्य खण्डमा पनि सडक कालोपत्र, स्तरोन्नति र पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
साथै, दरवाङदेखि रुम जोड्ने वैकल्पिक सडक सुधार भएपछि यात्राको समय एक घण्टाबाट घटेर करिब २० मिनेटमा सीमित हुने भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।