बीवाईडी नाम दुरुपयोगमा कारबाही

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्डको नाम दुरुपयोग गरेर सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरूविरुद्ध सार्वजनिक सूचना जारी गरेको छ।

कम्पनीले यस्ता प्लेटफर्महरूलाई नियन्त्रण गर्न कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

साइमेक्स इंकका अनुसार केही नक्कली डिजिटल माध्यमहरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक स्रोत भन्दै ग्राहक र उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्।

‘bydpromotionnepal.com’ वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज र ‘BYD Promotion’ नामको टेलिग्राम समूहलगायत यस्तै नाम भएका कुनै पनि प्लेटफर्महरू बीवाईडी नेपालसँग सम्बन्धित नरहेको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले ती अनधिकृत प्लेटफर्महरूसँग साइमेक्स इंकको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य वा आधिकारिक स्वीकृति नरहेको जनाएको छ।

यस्ता माध्यममार्फत गलत सूचना फैलाउने, विभिन्न अफर र योजनाको नाममा ग्राहकलाई झुक्याउने तथा आर्थिक ठगी गर्ने उद्देश्य रहेको आशंका गरिएको छ।

यसले ग्राहकको विश्वास, ब्रान्डको छवि र उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै कम्पनीले चिन्ता व्यक्त गरेको छ।

साइमेक्स इंकले सर्वसाधारणलाई यस्ता नक्कली डिजिटल प्लेटफर्महरूसँग सम्पर्क, प्रचार वा आर्थिक कारोबार नगर्न आग्रह गरेको छ।

नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा अभियानसम्बन्धी सही जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल माध्यम र आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन कम्पनीले अनुरोध गरेको छ।

साथै, बीवाईडी नामको दुरुपयोग रोक्न कानुनी तथा नियामक निकायसँग सहकार्य गर्दै थप कदम चालिने पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *