मारुतीको नयाँ गुजरात प्लान्ट

मारुती सुजुकी इन्डियाले भारतको गुजरातमा नयाँ कार उत्पादन प्लान्ट खोल्ने घोषणा गरेको छ।

यसका लागि कम्पनीले ३ खर्ब ५० अर्ब भारतीय रुपैयाँ लगानी गर्नेछ।

यो प्लान्ट गुजरातको खोरज क्षेत्रमा स्थापना हुनेछ र वार्षिक १० लाख कार उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्लान्ट सञ्चालनमा आएपछि करिब १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ।

नयाँ प्लान्ट करिब १,७५० एकड जमिनमा फैलिनेछ, जसको जग्गा गुजरात औद्योगिक विकास निगमले उपलब्ध गराउनेछ।

गान्धीनगरमा आयोजित कार्यक्रममा मारुती सुजुकीका प्रबन्ध निर्देशक शरियु हिटाची टाकुचीले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेललाई लगानीसम्बन्धी पत्र हस्तान्तरण गरेका थिए।

मुख्यमन्त्री पटेलले यो लगानीले गुजरातको औद्योगिक विकासमा ठूलो योगदान पुग्ने र भारत–जापान साझेदारीप्रति विश्व समुदायमा सकारात्मक सन्देश जाने बताए।

उनले सुजुकीले देखाएको विश्वासलाई राज्यका लागि महत्वपूर्ण उपलब्धि भनेका छन्।

भारतकै सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले १९८३ मा हरियाणाको गुरुग्रामबाट कार उत्पादन सुरु गरेको थियो।

हाल हरियाणामै कम्पनीका तीनवटा प्लान्ट सञ्चालनमा छन्। कम्पनीले भारतभर उत्पादन क्षमता विस्तार गर्दै आएको छ।

मारुती सुजुकीले भारतमा वार्षिक ४० लाख कार उत्पादन गर्ने लक्ष्य राखेको छ। भारतमै उत्पादन भएका सुजुकीका कार नेपालसहित एसिया, युरोप तथा अमेरिकाका बजारमा निर्यात हुँदै आएका छन्।

हालै युरोपमा बिक्री सुरु भएको सुजुकीको पहिलो विद्युतीय कार ई–भिटारा पनि भारतमै बनेको हो, जुन नेपाली बजारमा पनि आउने तयारीमा छ।

हाल कम्पनीले भारतमा १७ मोडल र ६५० भेरियन्टका कार उत्पादन गरिरहेको छ।

सन् २०२५ मा २२ लाख ५५ हजार कार उत्पादन गरेर मारुती सुजुकीले अहिलेसम्मकै उच्च उत्पादन रेकर्ड कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *