रत्नेचौर–भकुण्डे सडक सुधार

बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र भएको एक महिनामै भत्किन थालेपछि सम्बन्धित कार्यालय र निर्माण कम्पनीले सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत निर्माण भइरहेको यस सडकको गुणस्तरबारे उठेका प्रश्नपछि सरोकारवालाबीच बेनीमा छलफल गरिएको हो।

बैठकले अहिलेसम्म भएका कामको अनुगमन गरी आवश्यक सुधार गर्ने र आगामी निर्माणलाई गुणस्तरीय बनाउने निर्णय गरेको छ।

स्थानीय र जनप्रतिनिधिले बिटुमिनले चिप्स नसमातेपछि सडक भत्किन थालेको गुनासो गरेका छन्।

बेसमा धुलो रहेकाले बिटुमिन जम्न नसकेको कारण समस्या आएको वडाध्यक्षहरूले बताएका छन्।

नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइमा डिबिएसडी प्रविधिबाट कालोपत्र भइरहेको छ।

२३ करोड ३२ लाख रुपैयाँ लागतको यो योजनामा करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ।

सडक डिभिजन कार्यालयले मर्मत अवधि र ठेक्का अवधिभर सडकलाई तोकिएको मापदण्डअनुसार बनाउने प्रतिबद्धता जनाएको छ।

निर्माण कम्पनीले पनि भत्किएको स्थान सुधार गरी गुणस्तर कायम गरेर मात्र सडक हस्तान्तरण गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *