मुग्लिन–पोखरा सडक म्याद फेरि बढ्यो

पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को म्याद तेस्रोपटक थपिएको छ।

निर्माण कम्पनीको मागअनुसार सडक विभागले अब विसं २०८३ असार १५ गतेसम्मका लागि समय बढाएको हो।

एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार वर्षदेखि सञ्चालनमा रहेको यो आयोजना हालसम्म करिब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ।

यसअघि दुईपटक म्याद थप्दा पनि तोकिएको समयमा काम नसकिएपछि पुनः समय थपिएको योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार अब थपिएको अवधिमा ४ लेन र ६ लेन गरी सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, रुख कटानमा ढिलाइ जस्ता कारणले काम प्रभावित भएको बताइएको छ।

पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्म ३८.८८ किलोमिटर सडक पर्छ।

यसमध्ये पहिलो तहको कालोपत्र ३७ किलोमिटर र दोस्रो तहको करिब ३४ किलोमिटर सम्पन्न भइसकेको छ। एक किलोमिटर मात्र एकतर्फी कालोपत्र बाँकी छ।

साथै सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट र सुरक्षा ब्यारियर जडानको काम पनि सुरु भएको छ।

चालु आर्थिक वर्षमा ११ किलोमिटर सडकमा ४ लेनको पहिलो तह र ३० किलोमिटरमा दोस्रो तहको कालोपत्र सम्पन्न गरिएको छ।

यस अवधिमा एक पुल र दुई कल्भर्ट पनि निर्माण भइसकेका छन्।

यो खण्डको निर्माण विसं २०७८ भदौ १२ गते सुरु भएको थियो। चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।

पहिलोपटक १०१ दिन र दोस्रोपटक एक वर्ष म्याद थपिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *