रसुवागढीस्थित मितेरी पुल बगेर क्षतिग्रस्त भएको करिब छ महिनापछि सोही स्थानमा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ।
बेलीब्रिज खुलेसँगै मालवाहक ट्रक र कन्टेनरको आवतजावत पुनः सुरु भएको छ।
ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनको दोस्रो दिनसम्म २० वटा मालवाहक ट्रक तथा कन्टेनर नेपाल भित्रिएका छन्।
बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको पहिलो कन्टेनर नेपाल प्रवेश गरेको थियो।
सोही दिनभर नयाँ पुल हुँदै ३७ वटा ट्रक र कन्टेनर नेपाल भित्रिएको जनाइएको छ।
भन्सार कार्यालयका अनुसार नेपाल भित्रिएका सवारीसाधनमध्ये ८ वटा स्याउ, १० वटा ओखर, ६ वटा जलविद्युत् सामग्री र १३ वटा रेडिमेड सामग्री बोकेका ट्रक तथा कन्टेनर रहेका छन्।
यसअघि केरुङबाट दैनिक औसत २० वटा ट्रक तथा कन्टेनर लत्ताकपडा, फलफूल, ओखर, विद्युतीय सामग्रीलगायत सामान लिएर नेपाल भित्रिने गर्दथे।
चीनको गोन्झाओ र इयु क्षेत्रबाट करिब पाँच हजार किलोमिटर दूरी पार गर्दै केरुङ हुँदै सामान नेपाल ल्याइने गरेको छ।
साथै तिब्बतको प्रमुख सहर ल्हासा (करिब ८०० किमी) र सिँगत्से (करिब ४०० किमी) हुँदै पनि केही सामान नेपाल भित्रिने गरेको छ।
गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाकाबाट दुवैतर्फको आवतजावत ठप्प थियो।
अब बेलीब्रिज सञ्चालनमा आएपछि केरुङमा अड्किएका ट्रक तथा कन्टेनरहरू सामानसहित नेपाल आउन थालेका छन्।
बिहीबार मात्रै रसुवागढीमा रहेका २८ वटा कन्टेनर केरुङतर्फ सामान लिन गएका छन्।
काठमाडौंबाट गल्छी हुँदै रसुवागढीसम्मको दूरी १४८ किलोमिटर रहेको यो नाका लामो समय अवरुद्ध हुँदा चिनियाँ सामान आयातमा समस्या थियो।
बेलीब्रिज खुलेसँगै सामान ढुवानी सहज बनेको र स्थानीय बजार तथा सडक क्षेत्रमा चहलपहल बढेको बताइएको छ।
यद्यपि, गत बाढीले बेत्रावतीदेखि रसुवागढीसम्मका विभिन्न स्थानमा सडक कटान भएकाले ढुवानीमा अझै कठिनाइ रहेको भन्दै चालक र गाडी धनीहरूले सडक मर्मत तथा स्तरोन्नतिमा ध्यान दिन सरकारसँग माग गरेका छन्।
सडक ट्र्याक खुलाइएकामा धन्यवाद दिँदै अब गल्छी–रसुवागढी सडक सुधारलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
Post Views: 175