काठमाडौंको धोवीखोला नदी करिडोरको सडक मर्मत गरिएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडक मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको हो।
धोवीखोला करिडोर प्राधिकरणको क्षेत्रभित्र पर्ने उक्त सडकको दायाँ र बायाँ दुवै किनारमा मर्मत भइरहेको छ।
हाल दायाँ किनारको सडक मर्मत कार्य पूरा भइसकेको छ भने बायाँ किनारतर्फको काम जारी छ।
करिडोर तथा कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रमा पर्ने सडकमा खाल्डाखुल्डीका कारण धेरै जनगुनासो आएको थियो।
तर आयोजनाको बजेट रोक्का र अपुग भएका कारण तत्काल मर्मत गर्न नसकिएकाले प्राधिकरणले काठमाडौं महानगरपालिकालाई सहयोगका लागि अनुरोध गरेको थियो।
प्राधिकरणको अनुरोधअनुसार काठमाडौं महानगरपालिकाले अहिले धोवीखोला करिडोर सडकको मर्मत कार्य गरिरहेको छ।