फापरखेत बेलिब्रिज अन्योलमा

म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक वर्षौंदेखि फापरखेतको पहिरोले अवरुद्ध गर्दै आएको छ।

यही समस्याको विकल्पका रूपमा मंगला–३ पखेर र मंगला–२ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल बेलिब्रिज निर्माण गर्ने योजना बनाइएको थियो।

गण्डकी प्रदेश सरकारले चालु वर्षमा १ करोड रुपैयाँ बजेट राखे पनि काम सुरु नहुँदा यो योजना अन्योलमा परेको हो। प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार संघीय सरकारले मागिएको ५५ मिटरको बेलिब्रिज उपलब्ध गराउन ढिलाइ गरेपछि योजना रोकिएको हो।

पूर्व सांसद खमविर गर्बुजाले संघीय मन्त्रालयसँग समन्वय गरेर बेलिब्रिज प्रदेशलाई हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।

तर सरकार फेरिएसँगै प्रक्रिया थिचिएको र अहिले पनि प्रगति हुन नसकेको उनीहरूको भनाइ छ।

फापरखेत क्षेत्रमा तल म्याग्दी नदी र माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडक हरेक वर्षायामा बन्द हुन्छ

पछिल्ला दुई महिनामा दुई वटा ट्रक नदीमा खसेर दुर्घटना पनि भइसकेका छन्।

स्थानीयवासीले पहिरोको डरले आवतजावत, बिरामी लैजान, कृषि उपज बजार पुर्याउन गम्भीर समस्या भोगिरहेको बताएका छन्।

त्यस्तै, नदीमा निर्माणाधीन जलविद्युत् आयोजना, सबस्टेसन र विभिन्न विकास कामहरू पनि पहिरोका कारण प्रभावित भएका छन्।

अघिल्लो वर्ष पक्की पर्खाल बनाएर नदीको कटान रोकिने प्रयास सफल भए पनि सडकमाथिको पहिरो नियन्त्रण गर्न सकिएको छैन

अहिले सडक विभागले खसेका पहिरो पन्छाएर गाडी चल्ने व्यवस्था मात्रै मिलाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *