हेटौँडामा पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक २५/२५ गजसम्म चौडा बनाउने काम सुरु भएपछि बजार क्षेत्रमा सवारी चाप व्यवस्थापन गर्न वैकल्पिक बाइपास रुट प्रयोग गर्ने तयारी गरिएको छ।
काठमाडौं–चितवनतर्फ जाने सवारीलाई चौकीटोल–राप्ती पुल हुँदै रातोमाटे डाइभर्ट गरिनेछ।
वीरगन्जतर्फ जाने सवारीलाई पनि मुख्य बजार नछोइ वैकल्पिक बाटोबाट पठाइने छ।
वैकल्पिक सडकमा खाल्डाखुल्डी पुर्ने र ग्राभेल हालेर चलाउन मिल्ने बनाउने काम भइरहेको छ। करिब ७–१० दिनमा प्राथमिक विस्तार सक्ने लक्ष्य राखिएको छ।
तर सडक विस्तारका कारण घरधनी र व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले २५/२५ गज विस्तारले सयौँ घर ध्वस्त हुने, व्यवसायी विस्थापित हुने र बसोबास जोखिममा पर्ने भन्दै विरोध गरिरहेका छन्।
उनीहरूको माग—सडकको चौडाइ १६ मिटरमै सीमित गरियोस्, वैकल्पिक बाइपास प्रयोग होस्, उचित मुआब्जा र व्यवस्थापन बिना डोजर नचलियोस्।
आन्दोलनका कारण मंगलबार हेटौँडाको मुख्य बजार पूर्ण रूपमा बन्द भयो।
प्रशासनले ठूलो संख्यामा सुरक्षा व्यवस्था कडा बनाएको छ र जबर्जस्ती पसल बन्द गराउने तथा अराजक गतिविधि गर्नेविरुद्ध कारबाही हुने चेतावनी दिएको छ।
केही व्यापारी वैकल्पिक स्थान (नारायणी मल)मा सर्न तयार देखिए पनि, प्रशासनले केही घरधनीले राजनीतिक दबाब सिर्जना गर्दै आन्दोलन चर्काएको आरोप लगाएको छ।