नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ।
महासंघका अनुसार हेटौंडा क्षेत्रमा वर्षौंदेखि बढ्दो ट्राफिक, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण समस्या चर्किँदै गएको छ, जसले विस्तारलाई अब अपरिहार्य बनाएको छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी हुँदा पनि आधारभूत सडक सुविधाको कमीले स्थानीय तथा व्यवसायीले दैनिक कठिनाइ भोगिरहेको उल्लेख गरिएको छ।
विसं २०१२–१३ मा बनेको हालको सडक वर्तमान आवश्यकताअनुसार पर्याप्त नपरेकाले विस्तारमा ढिलाइ गर्न नहुनेमा महासंघले विशेष जोड दिएको छ।
यातायात चाप बढ्नासाथ दुर्घटनाको जोखिम पनि बढिरहेकाले विस्तार कार्य छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने महासंघको भनाइ छ।
यसैबीच, मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने उल्लेख छ, जसका कारण स्थानीयवासी र व्यवसायीबीच चासो बढेको छ।
विस्तार छिटो गरिनुपर्छ भन्दै आएको महासंघले प्रभावित सम्पत्तिधनीको हक अधिकार पनि सुरक्षित हुनैपर्ने बताउँदै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।
महासंघले विस्तार कार्य ढिलाइ नगरी सुरु गर्न, तर प्रभावित पक्षलाई न्याय सुनिश्चित गर्दै संयमित र व्यावहारिक प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको छ।