अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति काम पुनः सुरु भएको छ।
गत कात्तिकमा नयाँ निर्माण कम्पनी सी-एन ए-वान काली जेभी सँग सम्झौता भएपछि डिभिजन सडक कार्यालय भक्तपुरले काम फेरि अघि बढाएको जनाएको छ।
१४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ।
पहिलो चरणमा आगामी चैतसम्म सडक फराकिलो गरी कालोपत्र सक्ने, बाँकी काम क्रमशः पुरा गर्ने योजना छ।
पूर्व ठेकेदार कम्पनीको समयमै काम नसक्दा तीन वर्षदेखि सडक यात्रा कठिन भएको थियो।
गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको पुरानो ठेक्का रद्द भएपछि उच्च अदालत पाटनको आदेश अनुसार पुनः ठेक्का प्रक्रिया अघि बढाइएको थियो।
धुलिखेल–खावा सडक चीनको उत्तरी नाका र विभिन्न जिल्लातर्फ जाने मुख्य मार्ग भएकाले यसको समयमै स्तरोन्नति आवश्यक छ।
सडक १२ मिटर फराकिलो बनाई कालोपत्र गर्ने योजना छ।
मालवाहक सवारीको भारवहन क्षमता ध्यानमा राखेर ग्राभेलमा २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित वेस हाल्ने र दुई चरणमा डिबिएम र आस्फाल्ट कालोपत्र गर्ने काम हुनेछ।
Post Views: 142