ग्यास बुलेट ठक्करमा एकको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्।

चितवनबाट मनहरीतर्फ जाँदै गरेको स्कुटर (बा.प्र.२–०५७ प ३२३०) लाई सोही दिशातर्फ आउँदै गरेको ग्यास बुलेट (एनल ०१ एन ०२८०) ले ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो। उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

स्कुटरमा सवार उनकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ गम्भीर घाइते भएकी छन् र हाल चितवनको एलाइभ अस्पतालमा उपचाररत छन्। उनीहरूको दुई वर्षका छोरा प्रविन श्रेष्ठ पनि घाइते भएका छन्, तर उनको अवस्था सामान्य छ।

दुर्घटनामा संलग्न भारत बिहारका ५५ वर्षीय ग्यास बुलेट चालक मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *