झापामा रात्रिबस दुर्घटना, १९ घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोक नजिक आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

मन्थलीबाट काँकडभिट्टातर्फ गइरहेको बस (प्र१–०१–००१क ४२०९) पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई करिब १० मिटर तल पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, घाइते १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रु सकुशल आफ्नै गन्तव्यतर्फ गएको जनाइएको छ।

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहे पनि सडकमा यातायात सञ्चालनमा अवरोध भएको छैन।

घाइतेहरूमा बस चालक राजु भुजेल (३९) सहित झापा, रामेछाप र दोलखाका यात्रुहरू रहेका छन्। उनीहरू मध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, बस अनियन्त्रित भई पल्टिएको कारण दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *