काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ। विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने दुर्घटनामा मापसे प्रमुख कारण बनेकाले यस वर्ष प्रहरीले थप सतर्कता अपनाएको हो।
प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद र ट्राफिक प्रहरीले बिहानदेखि रातिसम्म मुख्य सडक र गल्लीहरूमा मापसे परीक्षण गर्दै कडाइका साथ अनुगमन गरेका छन्।
यस अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी स्वयं टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिल लगायत स्थानहरूमा निरीक्षणमा खटिएका थिए।
दसैँ र तिहारका बेला दुर्घटना रोक्न यस वर्ष गत वर्षभन्दा कडाइ बढाइएको छ। साथै, “मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ” नारासहित सडकमा पर्चा वितरण र माइकिङमार्फत जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ।