काठमाडौँ उपत्यकामा गरिएको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारीसाधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा विभिन्न स्थानमा बस र माइक्रो चलाइरहेका चालकहरू रहेका छन्। बाफलबाट तीन जना, गौशालाबाट एक, चाबहिलबाट एक, कोटेश्वरबाट एक र सातदोबाटोबाट एक जना चालकलाई नियन्त्रणमा लिइएको हो।
यी चालकहरू मादक पदार्थ सेवन गरेको अवस्थामा यात्रुवाहक सवारी चलाइरहेका थिए। प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको जनाएको छ।