हालै देशभर भएको आन्दोलन र प्रदर्शनले अर्थतन्त्र, उद्योग र व्यापारमा गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले दुःख प्रकट गरेको छ।
विज्ञप्तिमा नाडाले जीवन गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको आधारशिला हो तर हालका घटनाले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्।
कर्मचारी र ग्राहकको सुरक्षाप्रति चिन्ता बढेको र उपभोक्ता विश्वास कमजोर भएको नाडाको भनाइ छ।
यसले दीर्घकालीन रूपमा लगानी र रोजगारीमा चुनौती थपिएको उल्लेख गरिएको छ।
नाडाले समस्या समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भन्दै सरकारलाई व्यवसायिक समुदायको सुरक्षा सुनिश्चित गर्न र अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरेको छ।
संघले सदस्य कम्पनी, उपभोक्ताको विश्वास र सम्पूर्ण उद्योगको सुरक्षाका लागि निरन्तर खटिने प्रतिवद्धता जनाएको छ।
त्यस्तै, नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको घटनालाई ऐतिहासिक बताउँदै नाडाले छिट्टै मन्त्रिपरिषद् गठन र आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने अपेक्षा राखेको छ।
नयाँ सरकारले जनताको भावना आत्मसात गरी सफल होस् भन्ने शुभकामना पनि नाडाले व्यक्त गरेको छ।