कैलालीमा करिब ६०० वटा सवारीसाधन जले

जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनामा ठूलो क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर १०८ वटा सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट भएको छ भने करिब ६०० वटा सवारीसाधन जलेका छन्।

प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, उपमहानगरपालिका र प्रहरी बाहेकका प्रायः सबै सरकारी कार्यालय प्रदर्शनकारीको निशानामा परेका थिए।

अत्तरिया, घोडाघोडी, लम्कीचुहा र टीकापुरलगायतका क्षेत्रमा पनि सरकारी संरचनामा व्यापक क्षति भएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार १०० भन्दा बढी चार पाङ्ग्रे गाडी र करिब ५०० मोटरसाइकल आगजनीमा नष्ट भएका छन्। उनका अनुसार ८–९ वटा पार्टी कार्यालय र नेताहरूका निजी घरसमेत जलाइएका छन्।

जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी भएपछि सेवा प्रवाह ठप्प भएको छ। शनिबार सरसफाइ गरेर प्रशासनले आइतबारदेखि टेन्ट गाडेर भए पनि अत्यावश्यक सेवा दिन तयारी गरेको जनाएको छ।

यसबीच, कैलाली जिल्ला अदालत, मालपोत, नापी र प्रदेश सरकारका प्रायः सबै कार्यालयको कामकाज अवरुद्ध भएको छ। अवस्था सामान्य बन्दै गएपछि वैकल्पिक रूपमा सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *