नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिममा गर्ने निर्णय गरेको छ। शनिबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रूपमा यो निर्णय गरेको हो।
बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर सामान ओभरलोड गर्ने प्रवृत्ति बढेको, जसले सडक तथा पुलमा क्षति पुर्याउने र दुर्घटनाको जोखिम बढाउने निष्कर्ष निकालेको छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार तौलपुलमा नियमित जाँच भए पनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ओभरलोड गर्ने प्रचलन छ।
यसलाई रोक्न विभिन्न निकायमा लबिङ गर्ने निर्णय भएको उनले बताए।
उनले मापदण्डभन्दा बढी सामान बोकेका सवारीसाधनलाई निर्देशिका २०७४ अनुसार तुरुन्त अनलोड गराई ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
महासंघले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गरी तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।
महासंघको विश्वास छ— ओभरलोड सामान अनिवार्य रूपमा अनलोड गराई कारबाही प्रक्रिया लागू गरिएमा अनियमितता नियन्त्रणमा आउँछ।