नेपालमा चांगनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सबैभन्दा किफायती इलेक्ट्रिक कार लुमिन ईभी सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ को अवसरमा यो कार प्रस्तुत गरिएको हो।
लुमिन ईभीको मूल्य रु. २२ लाख ९९ हजार तोकिएको छ।
सिटी कार श्रेणीमा पर्न आउने यसमा ३५ किलोवाट मोटर र १७.६५ किलोवाट आवर तथा २८.०८ किलोवाट आवर क्षमताका लिथियम आइरन फस्फेट ब्याट्री प्याक उपलब्ध छन्।
दुई भेरिएन्टले क्रमशः २०५ किमी र ३०१ किमी रेन्ज दिनेछन्।
यसमा डीसी फास्ट चार्जिङ सुविधा रहेको छ, जसले ३५ मिनेटमै ब्याट्रीलाई ३०% देखि ८०% सम्म चार्ज गर्न सक्छ।
यसमा १४ इन्चको ह्विल, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, र १०.२५ इन्च इन्फोटेनमेन्ट युनिट छ। भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टहरूले इन्टेरियरलाई अझ आकर्षक बनाएका छन्।
साथै, रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी, र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता सुविधाहरू पनि उपलब्ध छन्।
चीनमा सन् २०२२ मा पहिलो पटक प्रस्तुत भएको लुमिन ईभीमा मोडुलर ईपीए–जिरो प्लेटफर्म प्रयोग गरिएको छ।