नेपालको अटोमोबाइल इतिहासमा पहिलोपटक फ्लाइङ कार Deepal eVTOL सार्वजनिक गरिएको छ।
नाडा अटो शो २०२५ को पहिलो दिनमै भएको अनावरणले नेपाललाई दिगो र भविष्य–मुखी यातायाततर्फ अघि बढाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा, एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा यस कारको अनावरण गरे।
उनीहरूले यसलाई नेपालको यातायातमा ठूलो उपलब्धि र गौरवको क्षण भनेका छन्।
Deepal eVTOL साधारण गाडी मात्र नभई उड्न सक्ने कार हो। चीनको चांगान अटोमोबाइल र हवाई सवारी निर्माता EHang को सहकार्यमा यो प्रविधि तयार भएको हो।
यसमा Vertical Take-off and Landing (VTOL) क्षमता छ, जसले सीधै उड्न र अवतरण गर्न सक्षम बनाउँछ।
यस प्रविधिबाट ट्राफिक भीड कम हुने, ध्वनि प्रदूषण न्यून हुने र कार्बन उत्सर्जन नियन्त्रण हुने अपेक्षा गरिएको छ।
अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन र स्मार्ट डिजाइनसहित यो कार भविष्यको दिगो यातायातको प्रतीक मानिएको छ।
चांगानले सन् २०३० सम्ममा २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरी थप उन्नत यातायात समाधान विकास गर्ने योजना सार्वजनिक गरेको छ।
नेपालमा पहिलो फ्लाइङ कार देखिनु एमएडब्लु वृद्धि ग्रुपका लागि पनि ऐतिहासिक उपलब्धि बनेको छ।