विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, रुपन्देही, दाङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
सुनसरीको इनरुवा नगरपालिका ७ बर्छुवा चोकस्थित सडकमा बर्छुवा चोकबाट मुसहरी टोलतर्फ जाँदै गरेको को–३४ प ५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय पारस यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका–८ सितलडाँडास्थित सडकमा लु. ६१ प ७२३८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ सन्धिखर्क घर भएकी ६८ वर्षीया कुमारी कुँवरको मृत्यु भएको छ ।
शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता दाङको लमही नगरपालिका–५ सुनखोलीमा लु. ३ च ४८१४ नम्बरको बोलेरो पिकअपले किचेर सोही ठाउँ बस्ने २१ वर्षीय राकेश कुमार बानियाँको आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नै घर अगाडि पार्किङ गरी राखेको बोलेरोको पछाडिको टायरमा ओत
लगाएको ढुङ्गा निकाल्ने क्रममा बोलेरो ब्याक भई किच्दा गम्भीर घाइते भएका राकेशको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।