चक्रपथ सडकको धोबीखोला–चाबहिल–गौशाला हुँदै तिलगंगासम्मको खण्ड विस्तार हुन नसक्ने निष्कर्षमा सरकार पुगेको छ ।
चक्रपथ विस्तार अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म सडक विस्तारको तयारी चलिरहेका बेला धोबीखोलादेखि तिलगंगासम्म विस्तार हुन नसक्ने निष्कर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेको हो ।
‘पशुपति क्षेत्र युनेस्को सम्पदा संरक्षण क्षेत्रमा पर्ने भएकाले कुनै पनि संरचना बनाउन अनुमति पाइएको छैन,’ मन्त्रालयका सचिव केशवकुमार शर्माले भने ।
सडक विस्तारका लागि वनकालीबाट सुरुङ निर्माण गरेर वा ‘कट एण्ड फिल’ गरेर जाने योजना बनाउँदा अनुमति नपाएको साथै ओभरपासको लागि पनि अनुमति नदिएको मन्त्रालयले जनाएको छ ।
बरु ट्राफिक व्यवस्थापनको लागि तिलगंगाबाट बागमति कोरिडोर सडकलाई तीनकुनेमा जोड्ने विकल्पमा जाने र एयरपोर्टसम्म पुग्नलाई अर्कोतर्फबाट सडक विस्तार गर्नेबारे सोचिरहेको उनले बताए ।
विस्तार हुने चक्रपथलाई निरन्तरता दिने हो भने महाराजगञ्जबाट कपन हुँदै जोरपाटी निस्कने र त्यसपछि पेप्सीकोला भएर कोटेश्वर आउने मात्र उपाय रहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार संघीय संसद्को पूर्वाधार समितिमा भएको छलफलमा मन्त्रालयले बसुन्धरादेखि–धोबिखोला–चाबहिल–गौशाला–एयरपोर्ट हँुदै कोटेश्वरसम्मको ८.५ किलोमिटर सडक तत्काल विस्तार हुने सम्भावना नभएको प्रष्ट पारेको हो ।
कलंकी–बसुन्धरा खण्डको विस्तार फागुनसम्ममा शुरु हुने
चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत कलंकी–महाराजगन्ज–धोबिखोला (चाबहिल) सम्म विस्तार गर्ने योजना भए पनि अहिले कलंकीदेखि बसुन्धरासम्म मात्र विस्तार गरिने भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले विशेष आग्रह गरेर दोस्रो चरणमै धोबिखोलासम्म विस्तार गर्ने योजनाबाट चिनियाँ पक्ष पछि हटेपछि कलंकीदेखि महाराजगञ्जसम्म विस्तार गर्ने योजना बनेको थियो ।
तर, नेपाल पक्षले महाराजगञ्ज क्षेत्रमा विस्तार गर्नुपर्ने स्थान प्राप्त गर्न नसकेपछि अहिले दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धरासम्म मात्र विस्तार गरिने भएको हो । यसको लम्बाइ ८.२ किलोमिटर छ ।
यो खण्ड कहिलेबाट विस्तार थालिन्छ भन्ने यकिन मिति चिनियाँ पक्षले अझै खुलाएको छैन । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार यही वर्ष छिटोमा पुसदेखि ढिलोमा फागुनसम्ममा काम थाल्ने तयारी छ ।
‘काम यही मितिमा शुरु हुन्छ भनेर भन्नुभएको छैन । कूटनीतिक जवाफमात्र दिनुभएको छ, यसकारण यही दिनदेखि शुरु हुन्छ भन्न सकिँदैन,’ सचिव शर्माले भने ।
काम थालेको डेढदेखि दुई वर्षमा निर्माण सम्पन्न हुने मन्त्रालयको भनाइ छ । पूर्वतयारीको काम ९५ प्रतिशतभन्दा धेरै भएकाले पनि दुई वर्षभन्दा धेरै लाग्ने सम्भावना नभएको उनले जानकारी दिए ।
सन् २०१८ देखि थालिएको दोस्रो चरण चक्रपथ विस्तारको काम झण्डै ७ वर्ष पूरा हुँदा पनि शुरु गर्न सकिएको छैन ।
कार्यस्थलका रुख काट्ने काम सन् २०१९ तिर नै सकिएको भए पनि कोभिडका कारण दुई वर्षजति चिनियाँ प्राविधिक टोली आउन सकेनन ।
सन् २०२४ मार्च १५ मा विस्तार गर्नेबारेमा चिठी आदानप्रदान भयो । त्यसपछि २०२५ अप्रिल १८ मा बल्ल विस्तार गर्ने सडकको डिजाइन (नक्सा) प्राप्त भएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
ज्यानमारा सडक भनेपछि चीनले ढिलाइ गरेको खुलासा
पहिलो चरण कलंकीदेखि कोटेश्वर सडक पूरा भएपछि तिव्र गतिमा सवारीसाधन गुड्न थाले । त्यसले दुर्घटना बढायो ।
त्यही बेला मिडियामा ‘ज्यानमारा सडक चीनले बनाएको’ भन्ने खालका समाचारहरु आएका थिए । यसले चिनियाँ पक्षको मन दुखेको र विस्तार ढिलो हुनुको एउटा कारण यो रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
चिनियाँहरुले मन्त्रालयसँग दुई–चार पटक यो विषयमा गुनासो पनि गरेका थिए । ‘अब हामी अगाडि किन सडक बनाउने ?
हामीले ज्यानमारा सडक बनाएका रहेछौं भनेर निराशा पोखेका थिए,’ मन्त्रालयका सचिव शर्माले भने । अहिले गति नियन्त्रण गरेर दुर्घटना हुने क्रम घटेको उनको भनाइ छ ।
दोस्रो चरणमा भने बढी सुरक्षित बनाउने गरी तयारी गरिएको छ । सडकको बीचमा मिडियन राख्ने र इन्टरसेक्सनहरु थप्ने काम भएको छ । पहिलो चरणको भन्दा यात्रु र वातावरणमैत्री बनाउन खोजिएको छ ।
कुल २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको तीन खण्डमा विभाजन गरेर विस्तार गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।
चिनियाँ अनुदान र प्राविधिक सहयोगमा पहिलो चरणमा कलंकी–कोटेश्वर १०.३ किलोमटिर सडक विस्तार पूरा भइसकेको छ ।
यो खण्ड साढे ६ वर्षअघि चीनले २५ माघ २०७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको हो ।
सन् २०१३ देखि सुरु भएको कलंकीदेखि कोटेश्वरसम्मको सडक खण्ड सन् २०१६ मा सम्पन्न गर्नुपर्ने थियो ।
तर, २०१५ मा गएको भूकम्प, निर्माण सामग्रीको अभाव लगायतका कारणले २०१८ मा सम्पन्न भएको हो ।
उक्त खण्डको निर्माण चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन समूहले गरेको हो । चक्रपथ विस्तारका लागि नेपाल र चीनबीच १८ डिसेम्बर २०१२ मा सम्झौता भएको थियो ।
काठमाडौं उपत्यकामा चक्रपथ चीनले २०२७–२८ सालतिर बनाइदिएको हो । त्यसबेला बेइजिङमा पनि एउटामात्र चक्रपथ थियो ।
पछिल्लो ५० वर्षको अवधिमा बेइजिङमा छैटौं चक्रपथ सञ्चालनमा आइसकेको छ । नेपाललाई बनाइदिएको चक्रपथको स्तरोन्नति गर्ने काम भने डेढ दशकअघि थालिए पनि अझै पूरा भएको छैन ।