कपिलवस्तुको वाणगंगामा ९ महिनामै पुल निर्माण सम्पन्न

कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ स्थित कोइली खोला (ख)को पुल निर्माण कार्य ९ महिनामै सम्पन्न भएको छ।

सम्झौताअनुसार दुई वर्षको म्याद भए पनि समय अवधिभन्दा १५ महिनाअघि नै काम सकिएकाले स्थानीयवासी निकै उत्साहित छन्।

श्रेष्ठ एन्ड एन.बी. जेभी, बुटवल कम्पनीले २०८१ असार २० गते पुल निर्माणको लागि सम्झौता गरेको थियो।

नौ महिनामा शतप्रतिशत काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रमुख नारायणप्रसाद भुसालले जानकारी दिए।

भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको योजनाअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुबाट सुरु गरिएको पुल निर्माणको काममा स्थानीय सडक पुल कार्यक्रम ललितपुरले प्राविधिक सहयोग गरेको कम्पनीका साइट इन्चार्ज हरि अर्यालले बताए। पुलको लम्बाइ ७३.५ मिटर तथा चौडाइ १० मिटर छ।

उक्त पुल बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडक खण्डअन्तर्गत पर्छ, जहाँ बर्खायाममा कोइली खोला तर्नु जोखिमपूर्ण हुने गरेको थियो।

वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले पुल नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका बताए।

अब पुल निर्माण सम्पन्न भएसँगै यात्रा सहज हुनुका साथै स्थानीय विकासमा समेत टेवा पुग्ने अर्यालको अपेक्षा छ।

यस पुलमार्गले पूर्व–पश्चिम राजमार्गलाई बाणगंगा नगरपालिकाका वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोड्छ। यसले क्षेत्रीय यातायात सुधार गर्नुका साथै व्यापारिक सञ्जाललाई पनि गति दिने बताइएको छ।

उक्त पुलको अनुमानित लागत ११ करोड ४९ लाख २ हजार आठ सय रुपैयाँ (मूल्य अभिवृद्धि करसहित)मा सम्झौता भएको थियो।

पूर्वमा कोइली खोला (क)मा पुल निर्माण भइसकेको थियो भने यो पुल कोइली (ख)मा पनि पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रको सञ्जाल अझ मजबुत भएको वडा नं ९ का वडाध्यक्ष कमल पौडेले बताए।

पुलको समयमै सम्पन्नता र प्रभावकारी कार्यान्वयनले अन्य आयोजना निर्माणमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको पौडेलको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *