दुर्घटनापछिको क्षतिपूर्ति माग गर्दै झलारी बन्द

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सडक अवरुद्ध गरिएको छ ।

झलारीका स्थानीय ललितराज जोशीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन ।

शुक्रबार बेदकोट नगरपालिका–१० स्थित पूर्व-पश्चिम राजमार्गमा त्रिपुरा मन्दिर नजिकै बा ६६प ८७८७ नम्बरको मोटरसाइकलले ललित सवार लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा उनको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले पीडित पक्षसँग छलफल भइरहेको बताए ।

‘राजमार्ग बन्द छ, पीडित पक्षसँग छलफलमा छौं,अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *