५० टनको सवारीलाई ३० टनको बेलिब्रिज

पाँच एक्सल भएको १८ चक्केसम्मका मालबाहक सवारी साधन चल्ने राजमार्गको व्यस्त सडक बाराको दुधौरा पुलमा कम क्षमताका ३० टन मात्रै भार थेग्ने बेलिब्रिज राखिए पछि मालबाहक सवारीले जोखिम मोलेर खोलाको बाटो प्रयोग गर्न थालेका छन् ।

५० वर्षअघि सोभियत संघको सहयोगमा निर्माण भएको ९५.२ मिटरको दुधौरा पुल आठ वर्षअघि भाँचिए पछि सवारी आवागमन सहज बनाउन कम क्षमताका बेलिब्रिज राखिए पनि मालबाहक सवारीले हिउँद, बर्खा दुवै समयमा जोखिम मोलेरै खोलाको बाटो प्रयोग गर्दै आएका छन् ।

‘हिउद बर्खा कुनै पनि समय हाम्रा मालबाहकले बोकेर हिँड्ने मालसमान तोकिएकै समय भित्र वितरक समक्ष पुर्‍याउनु पर्ने हाम्रो बाध्यता हुन्छ, तर सवारीसहित माल बोकेका ५० टनका सवारीलाई ३० टनको बेलिब्रिज सञ्चालन गर्दा जोखिम मोलेरै खोलाको बाटो प्रयोग गर्न बाध्य भएका छौं’ तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओमकृष्ण कार्कीले भने, ‘दुधौरामा खोला बढ्ने बित्तिकै ट्राफिक प्रहरीले निजगढ र पथलैयामा सवारी रोक्ने गरेको छ, समयमै वितरक कहाँ मालसामान नपुग्दा व्यवसायी र सवारी धनी दुवैलाई व्यावसायिक क्षति पुग्ने गरेको छ ।

पाँच एक्सल भएको १८ चक्के मालबाहले ५० टनसम्म बोक्ने सडकमा ३० टनको बेलिब्रिज राखेर सडक विभागले दुर्घटनाको धराप राखेको भन्दै मालबाहकले प्रयोग नगरी साना सवारीले मात्रै प्रयोग गरेपनि पुल जीर्ण बनेको छ ।

एक हजार भन्दाबढी मालबाहकसहित दुई हजार सवारी आवतजावत गर्ने उक्त सडकमा राखिएको बेलिब्रिज जीर्ण भएपछि गत सातादेखि सञ्चालनमा रोक लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मुख्य समस्या रहेको तीन स्थान नवलपरासी, दाउन्ने, र बाराको दुधौरामा मालबाहक सवारी तथा यातायात सञ्चालन गर्न कठिन क्षेत्र भएको बताउँदै नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले भने, ‘राजमार्गका ५० प्रतिशत पुल पुनर्निर्माण र ८० प्रतिशत पुल मर्मत सम्भार नगरे यातायात क्षेत्र सधै संकटमा पर्ने निश्चित बनेको छ ।’

मालबाहक सवारीले सञ्चालन इजाजत पत्र र रुट पर्मिटवापत यातायात व्यवस्था विभागमा राजस्व बुझाउने गर्छ भने स्थानीय सरकारलाई सडक उपयोग शुल्क बुझाउने गरे पनि यातायात क्षेत्रको सुझाव गम्भीर रुपमा नलिँदा राजमार्गका सडक, पुल सधै जोखिममा हुने गरेको महासचिव बानियाँको तर्क छ ।

मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ मा गाडीको एक्सल अनुसार तौल बोक्न पाउने व्यवस्था भए पनि सडक, पुलको भारवहन क्षमताले धान्नेसम्मका मात्र गाडी गुड्न दिन मिल्ने चेक जाँच गर्ने उपकरण संयन्त्र सडक विभागसँग नरहेको बारा जिल्लासमेत हेर्ने डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकृत यादव सुवेदीले बताए ।

देशभर साढे २ हजार भन्दा बढी साना ठूला पुल सञ्चालनमा रहेपनि पुलको भार क्षमता उल्लेख गरी सूचना राखिएको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *