लुम्बिनीमा ५१ हजार दुई पाङग्रे सवारीसाधन दर्ता

लुम्बिनी प्रदेशमा ५१ हजार दुई पाङग्रे सवारीसाधन दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा दर्ता भएका ६० हजार ६६९ सवारीसाधन मध्येमा ५१ हजार दुई पाङग्रे सवारीसाधन रहेका हुन् ।

दुई पाङग्रे सवारीसाधनमध्ये सबैभन्दा बढी ५१ हजार ६ थान मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएको प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

गत आवको सोही अवधिमा ४५ हजार ८२८ सवारीसाधन दर्ता भएकोमा ४० हजार १४८ थान मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएका थिए ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्यांकले सवारी दर्तामा दुई पाङग्रेको बाहुल्यता रहेको देखाएको छ ।

आव २०७९/८० देखि चालु वर्षसम्म मोटरसाइकल, स्कुटर, मोपेड नै बढी दर्ता भएको मन्त्रालयको दर्ता रेकर्डले देखाएको छ ।

आव २०७९/८० मा ८४ हजार दुई सय ८९ सवारीसाधन दर्ता भएकोमा मोटरसाइकल, स्कुटर, मोपेड ७९ हजार २२५ दर्ता भएका थिए ।

आव २०८०/८१ मा ५३ हजार ९५२ दर्ता भएकोमा मोटर साइकल, स्कुटर, मोपेड मात्रै ४७ हजार ३० थिए ।

कार, जीप, डेलिभरी भ्यानतर्फ आव २०७९/८० मा एक हजार ५३५, २०८०/८१ मा एक हजार ७६२ र आव २०८१/८२ को चैत मसान्तसम्म दुई हजार १६५ दर्ता भएका छन् ।

टेम्पो, अटोरिक्सातर्फ आव २०७९/८० मा ७१३, २०८/८१ मा एक हजार ६१२ र आव २०८१/८२ को चैत मसान्तसम्म दुई हजार २४५ दर्ता भएका छन् ।

ई–रिक्सातर्फ आव २०७९/८० मा एक हजार २४०, २०८०/८१ मा एक हजार ९८६ र आव २०८१/८२ को चैत मसान्तसम्म तीन हजार ६७४ दर्ता भएका छन् ।

ट्याक्टरतर्फ आव २०७९/८० मा ५०७, २०८०/८१ मा ६१५ र आव २०८१/८२ को चैत मसान्तसम्म ५७२ दर्ता भएका छन् ।

मिनिबस, मिनीट्रकतर्फ आव २०७९/८० मा २१३, आव २०८०/८१ मा १८१ र आव २०८१/८२ को चैत मसान्तसम्म तीनवटा दर्ता भएका छन् ।

बस, ट्रक, लरीतर्फ आव २०७९/८० मा ७१८, आव २०८०/८१ मा ८९५ र आव २०८१/८२ को चैत मसान्तसम्म एक हजार ३०० दर्ता भएका छन् । डोजर, लोडर, क्रेनतर्फ आव २०७९/८० मा ५६ र आव २०८०/८१ मा ५६ वटा दर्ता भएको छन् ।

चालु वर्षमा डोजर, लोडर, क्रेन दर्ता भएको रेकर्ड छैन । फायर ब्रिगेडतर्फ आव २०७९/८० मा १८ र आव २०८०/८१ मा दुई वटा दर्ता भएका छन् ।

अन्यतर्फ आव २०७९/८० मा ७४, आव २०८०/८१ मा ४३ र आव २०८१/८२ को चैत मसान्तसम्म एउटा पनि दर्ता भएको रेकर्डमा छैन ।

लाइसेन्स अवस्था
आव २०८१/८२ को चैत मसान्तसम्म नयाँ सवारी चालक अनुमतिपत्र ४५ हजार ७०७ वटा जारी भएका छन् । यस अवधिमा २३ हजार वर्ग थपसहित सवारी चालक अनुमतिपत्र जारी गरिएको छ ।

आव २०७९/८० सम्ममा कुल तीन लाख १६ हजार १६१ नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिएको छ ।

वर्ग थपसहित सवारी चालक अनुमतिपत्र ९२ हजार ८२० जारी गरिएको छ ।

आव २०८०/८१ मा ५१ हजार ४४७ नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिएको छ भने वर्ग थपसहित सवारी चालक अनुमतिपत्र १६ हजार २५२ जारी गरिएको छ ।

आव २०८१/८२ को चैत मसान्तसम्ममा ४५ हजार ७०७ नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिएको छ भने वर्ग थपसहित सवारी चालक अनुमतिपत्र २३ हजार जारी गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *