जाजरकोटमा विपत् व्यवस्थापन तथा उद्धार क्षमताको परीक्षण गर्न विशेष अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
बिहीबार भेरी नगरपालिकामा सम्पन्न उक्त अभ्यास कार्यक्रमले जिल्लामा सम्भावित सवारी दुर्घटना र अन्य आकस्मिक घटनाको तत्काल प्रतिकार्य क्षमतालाई परीक्षण गरेको हो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोट र पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटले आयोजना गरेको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता थियो ।
जिल्लामा सवारी दुर्घटनाका घटनाहरू बारम्बार घटिरहेका सन्दर्भमा जनशक्तिको तयारी, उपकरणको उपयोग र समन्वयात्मक उद्धार कार्यशैलीको मूल्यांंकन गर्न अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले बताए ।
उनका अनुसार यस्तो अभ्यासले विपतका वेला तुरुन्त उद्धार, घाइतेको प्राथमिक उपचार र अस्पतालसम्म सुरक्षित यातायात गर्न आवश्यक संयन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
अभ्यासका क्रममा सवारी दुर्घटनाको कल्पित दृश्य सिर्जना गरी त्यसमा उद्धार टोली परिचालन गरिएको थियो ।
जसमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सामूहिक रूपमा घाइतेलाई सुरक्षित स्थानमा सार्ने, प्राथमिक उपचार दिने र एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने अभ्यास गरेको थियो।
विपतकाे वेला सम्पूर्ण संयन्त्रबिचको तालमेल कत्तिको प्रभावकारी हुन्छ भन्ने यथार्थ परीक्षण गर्न गरिएको यो अभ्यास जिल्लाका लागि उपयोगी बन्ने प्रहरीले जनाएको छ।