पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भासिएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
सडक मर्मत गरी साढे ११ बजेदेखि सञ्चालनमा ल्याइएको नवलपुर प्रहरीले जनाएको छ।
रातिदेखि परेको झरीले दाउन्ने खुर्सानी खोलामा सडक करिब चार फिट भासिएका कारण बिहान साढे ५ बजेदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सामान्य पानी पर्दा पनि चिप्लिएर गाडी गुड्न नसक्ने र ठुलो पानी पर्दा सडक भासिने र पहिरो जाने समस्याका कारण यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर हुँदै आएको छ।
चिनियाँ ठेकेदार कम्पनीले विस्तारका लागि सडक भत्काएको, तर समयमै मर्मत नगर्दा वर्षामा थप समस्या हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए।