अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सुपादेउराली मन्दिरमा केबलकार निर्माण गरिने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको सहज पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो।

सन्धिखर्क नगरपालिकाको असार १३ गते बसेको कार्यपालिका बैठकले ‘सुपादेउराली केबलकार प्रालि’ लाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रस्तावित केबलकार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म निर्माण गरिनेछ।

सुपादेउराली मन्दिरमा पछिल्ला वर्षहरूमा धार्मिक पर्यटकको उल्लेख्य वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताउनुभयो।

कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देही जिल्लाबाट यहाँ बढी भक्तजन आउने गर्छन् भने भारतको उत्तर प्रदेश र बिहारबाट समेत दर्शनार्थी आउने गरेको वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए।

सुपादेउराली मन्दिरको धार्मिक आस्थासँग गहिरो जनविश्वास जोडिएको छ।

भक्तजनहरू कुनै कठिनाइ वा समस्या आइपरेमा यहाँ पूजा तथा भाकल गर्न आउने गर्छन्।

चट्टानी जमिनको फेदमा अवस्थित मन्दिरसम्म पुग्ने बाटो साँघुरो र अप्ठ्यारो भएकाले केबलकार बनेपछि यात्रुहरूको पहुँच सजिलो हुने अपेक्षा गरिएको छ।

मन्दिरमा विशेषतः पाठी र बोकाको बली दिने परम्परा कायमै रहेको छ।

प्रस्तावित केबलकारले धार्मिक पर्यटन प्रवर्द्धनसँगै अर्घाखाँचीको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने स्थानीयवासीहरूको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *