जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा दुई करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्म विभिन्न सवारी कारबाहीबाट दुई करोड ३३ लाख ८ हजार नौ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार यो अवधिमा तीन हजार १५ वटा सवारीलाई कारबाही गरिएको थियो ।
सोही कारबाहीअन्तर्गत सो रकम संकलन भएको हो ।
यस अवधिमा ट्राफिक प्रहरीले चार सय ७७ वटा ट्रक कारबाहीबाट चार लाख १० हजार रुपैयाँ, पाँच सय ७५ वटा बस कारबाहीबाट चार लाख ४८ हजार रुपैयाँ, एक हजार १३ वटा जिप/कार कारबाहीबाट चार लाख ६७ हजार रुपैयाँ र एक सय नौ वटा ट्याक्टर कारबाहीबाट ८८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भट्टराईले बताए ।