नेपालगञ्ज–पोखरा स्तरीय बस सेवा सञ्चालनको माग

पोखरा र नेपालगञ्जबीच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै स्तरीय बस सेवा सञ्चालन गर्न व्यवसायीले जोड दिएका छन् ।

जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगञ्जमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा पोखरा र नेपालगञ्जका व्यवसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

पोखरा र नेपालगञ्जबीच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो ।

होटल संघ पोखरा नेपालका अध्यक्ष एवम् अभियानका संयोजक लक्ष्मण सुवेदीले पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र पश्चिम नेपालका विभिन्न शहरबीच स्तरीय बस सेवा जरुरी भएको बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवम् आयोजक संघका सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले अभियानको निरन्तरता नै सफलताको सूचक भएको जनाए ।

पूर्वाधारको विकास र पर्यटनमैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने पराजुली बताउँछन् ।

लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा पोखरालाई आफ्नो साथ रहने बताइन् ।

नेपालमा पाँच सय दरका भारतीय रुपैयाँका नोट चलाउन दिनुपर्ने, चेकिङका नाममा भारतबाट आउने पर्यटकलाई नाका र अन्य ठाउँमा सुरक्षाकर्मीले दुःख दिन नहुने र दुई शहरबीच पर्यटनका संयुक्त प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनुपर्ने गुनासा र सुझाव नेपालगञ्जका व्यवसायीले राखेका छन् ।

होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल व्यवसायी महासंघ लुम्बिनीका संस्थापक भास्कर काफ्ले, नेपाल उद्योग वाणिज्य संघ नेपालगञ्जका उपाध्यक्ष चिरन्जीवी वली, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियात अहमद शाह लगायतले आफ्ना धारणा राखेका छन् ।

पोखराबाट जेठ २९ गते पश्चिम नेपालका लागि निस्केको संघको टोली असार २ गते पोखरा फर्कनेछ ।

यसअघि पाल्पा र बुटवलमा औपचारिक कार्यक्रम गरेको टोलीले सुर्खेत र दाङमा पनि कार्यक्रम सञ्चालन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *