अटो व्यवसायीहरूद्वारा नाइमा गठन

नेपालमा अटोमोबाइल व्यवसाय विस्तारसँगै यस क्षेत्रमा क्रियाशील व्यवसायीहरूले नयाँ संस्था गठन गरेका छन्।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) नामको नयाँ संस्था सार्वजनिक भएको छ, जसको नेतृत्व रितुसिंह वैद्यले गरिरहेकी छन्।

नाइमा गठन गर्नुको मुख्य उद्देश्य नेपालमा अटोमोबाइल व्यवसायलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउनु, व्यवसायीको हकहितको आवाज उठाउनु र नीतिगत तहमा स्पष्ट भूमिका निर्वाह गर्नु हो।

वैद्यका अनुसार अहिलेको अवस्थामा नेपाल अटो व्यवसायका लागि ‘डम्पिङ ग्राउण्ड’ जस्तो बन्दै गएको छ।

उनले भनिन्, “नेपालमा अहिले जुनसुकै ब्राण्ड पनि सजिलै प्रवेश गर्न थालेका छन्।

धेरैजसो टिकाउ योजना बिना आएका हुँदा बजार बिग्रने खतरा छ। यसकारण हामीले नाइमा गठन गरेका हौं।”

नाइमामा करिब ५० देखि ६० जना व्यवसायीहरू आवद्ध हुने लक्ष्य राखिएको छ।

दुई–चार पांग्रे सवारीसाधनका करिब ६० बढी ब्राण्ड भित्रिएका नेपाली बजारमा एउटै संस्था सबैलाई समेट्न कठिन भएपछि नयाँ संस्था आवश्यक भएको नाइमा पक्षको भनाइ छ।

नाइमाले साना तथा ठूला व्यवसायीलाई एउटै मंचमा ल्याएर साझा एजेण्डा तयार पार्ने, सरकारले ल्याउने नीतिहरूमा प्रतिक्रिया दिने र बजारलाई दीर्घकालीनरूपमा सन्तुलनमा राख्न काम गर्ने योजना अघि सारेको छ।

यसअघि यो क्षेत्रको प्रतिनिधित्व नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल मार्फत हुँदै आएको थियो।

अब नाइमा गठनसँगै अटो क्षेत्रमा प्रतिस्पर्धी र परिपक्व आवाज थपिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *