झापाको हल्दिबारी गाउँपालिकाले काठे पुल विस्थापित गर्ने अभियान स्वरूप आफ्नै आन्तरिक बजेटबाट पक्की पुल निर्माण गरिरहेका छन्।
गाउँपालिकाले दुई वर्षअघि काठे पुल भएको भुतेनी खोलामा एउटा र भुसुडी खोलामा दुइटा गरी एकैसाथ ३ वटा पुलको शिलान्यास गरेका थिए।
तीन वटै पुल ४ करोड ९६ लाख ८५ हजार ९ सय रुपैयाँमा ठेक्का लागेको थियो। त्यसमध्ये हल्दिबारी वडा नम्बर ५ र १ जोड्ने भुतेनी खोलाको पक्की पुलको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
सो पुलको पूर्वउपप्रधान, ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा झापा ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरेका हुन्।
२०७४ सालमा सडक विभागको पुल महाशाखाको टोलीले यहाँ आएको थियो। उनीहरूले भुतेनी खोलामा पुल निर्माणका लागि माटो परीक्षण गर्नुका साथै डीपीआर तयार गरी पुलको प्राविधिक लागत इस्टिमेट करिब साढे २७ करोड निकालेको गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले बताए।
पुल महाशाखाले एउटै पुलको लागत इस्टिमेट साढे २७ करोड निकालेपछि हामी झस्कियौं। गाउँपालिकाको थोरै पैसाले यो पुल बन्छ कि बन्दैन भन्नेमा हामी अन्योलमा थियौं। तर, हामीले अन्नतः पुल बनाएर छाडेयौं।
महाशाखाको लागत इस्टिमेटमा पुलको मिटर केही लामो र अग्लो हुन्थ्यो होला? ‘तर, त्यतिको रकम चाहिँ पक्कै पर्दैन थियो होला,’ गाउँपालिका अध्यक्ष लिङ्देनले भने।
गाउँपालिकाले ४ करोड ९६ लाख रुपैयाँमा तीन वटा पुल बनाइदिएको बताउँदै अध्यक्ष लिङ्देनले भने, ‘दुइटा पुलको पनि छ्ट्टिै उद्घाटन हुँदैछ, अब गाउँपालिका काठे पुलबाट मुक्त भएको छ।’
सबै मिली इमानदार र अनुशासित भई काम गर्दा थोरै लागतमा पनि यस्ता भौतिक पूर्वाधारको काम गर्न सकिन्छ भनेर एउटा ज्वलन्त उदाहरण यो कामले दिएको उनको भनाइ छ।
त्यस्तै प्रतिनिधिसभा सदस्य लिङ्देनले काठे पुल विस्थापित गर्ने अभियान अन्तर्गत दुई वर्ष अघि शिलान्यास गरिएको पुल उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।
यो पुल एउटा यस्तो उदाहरण हो कि। यो पुल बनाउने चर्चा हुँदा खेरी यसको लागत इस्टिमेट नै सातो उड्ने खालको थियो। यो कहिले बन्न सक्दैन कि भन्ने कुरा पनि हुन्थ्यो।
‘एउटा गाउँमा साढे २७ करोडको लागतमा कसले पुल बनाउँला र कहिले बन्ला जस्तो भएको थियो,’ प्रतिनिधिसभा सदस्य लिङ्देनले भने, ‘गाउँपालिका आफैं अगाडि बढ्दा दुई करोड ३० लाखमा यो पुल बन्यो, त्यो पनि गाउँपालिकाको आफ्नै बजेटबाट।’
एउटा जनप्रतिनिधि इमानदार भयो, उसले सपना बोक्यो र योजना बनायो भने सम्भव हुने उदाहरण यो पुलले प्रमाणित गरिदिएको उनको भनाइ छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)का अनुसार २०७९ कात्तिक ७ गते सम्झौता भएको पुल निर्माणको म्याद २ वर्षको रहेकोमा ५ महिनाअघि नै काम निर्माण सम्पन्न भएको बताए।
४२/७ मिटर लम्बाई र ७।२ मिटर चौडाई भएको पुल सारा सृष्टि निर्माण सेवा प्रालिले निर्माण गरेको हो। अन्य दुई वटा पुलको निर्माण कार्य पनि अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत वनले बताए।
गाउँपालिकाको आफ्नै बजेटमा सो पुल निर्माण भएपछि यहाँका स्थानीयसँगै छिमेकी पालिकाका बासिन्दासमेत लाभान्वित हुनेछन्।
सात वर्षमा १५० काठे र बाँसे पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट बनाएको बताउँदै अधिकृत वनले भने, ‘गाउँपालिकाले पुल र कल्भर्टसहित अन्य भौतिक पूर्वाधारका कामहरूलाई पनि निरन्तरता दिँदै आएको छ।’