भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न विमान कम्पनी अनिच्छुक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान भर्न विमान कम्पनी अनिच्छुक रहेका छन् ।

विन्टर सेडुलअन्तर्गत उडान भर्दै आएका जजिरा एअरवेज, फ्लाई दुबई, थाई एअर एसियाले गर्मी मौसमका लागि भैरहवामा उडान भर्न अनिच्छा देखाएका हुन् । अप्रिल १ बाट सुरु हुने समर सेडयुल अगावै उडान रोकेका छन् ।

उडान रोकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि शून्यता छाएको छ । यद्यपि राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाइन्सले भने उडान तालिका अनुसार नै गर्दै आएको छ ।

यो विमानस्थलमा जजिराले कुवेत –भैरहवा– कुवेत हप्ताको तीन र थाई एअर एसियाले बैंकक –भैरहवा– बैंकक साताको एक सिधा उडान गर्दै आएका थिए । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई दैनिक एक उडान गर्दै आएको थियो ।

जजिराको अकुपेन्सी सबैभन्दा राम्रो भएता पनि उसले पनि यहाँबाट उडान भर्न इच्छा देखाएको छैन । फ्लाई दुबईबाट भैरहवा ओर्लने औसतमा ७० जना र यहाँबाट दुबई जानेमा औसतमा २० देखि ३० जना जति थिए ।

कतार एअरले भने मंसिरमा दुई हप्ता उडान गरी बन्द गरेको थियो । नियमित उडान गरिरहेका ती अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले गर्मी सिजनको उडान अनुमति नलिएसँगै अन्तर्राष्ट्रियतर्फको उडान शून्य भएको हो ।

वायु सेवा निगमबाहेक अन्य अन्तर्राष्ट्रिय विमान कम्पनी भैरहवाबाट बाहिरिएका छन् । सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान सेवा कम्पनीहरूलाई विभिन्न छुट उपलब्ध गराउँदै आएको थियो ।

हवाई सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट, इन्धनमा सहुलियतलगायतका स्किम थिए ।

तर सरकारले अन्य कार्यहरू श्रम, म्यानपावर, स्वास्थ्य परीक्षण, भिसा सेन्टर स्थापना, जस्ता मुख्य कार्य गर्न असफल हुँदा भिसा र स्वास्थ्यका लागि यात्रुहरू काठमाडौं जानु पर्ने बाध्यता भएकाले र उनीहरू फेरि उडान नै भनेर भैरहवा आउँदा दोहोरो खर्च हुने हुँदा पनि विमानस्थल निरन्तर सञ्चालनमा समस्या आएको पर्यटन व्यवसायी एवं सिद्धार्थ होटल संघ नेपाल (सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् ।

‘विमानस्थल हेरेर यहाँका पर्यटन क्षेत्रमा खर्व बढी लगानी भैसकेको छ, हामी अहिले निराश छौ’ श्रेष्ठले भने ।

जजिरा एअरवेज बाहेकका दुई थाई एअर एसिया र फलाई दुबईका प्रतिनिधिले भने अकुपेन्सी न्यून रहेको जनाउँदै उडान गर्न अनिच्छुक रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *