नेपाली सेनाको विमान म्यानमार गयो

शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालले मेडिकल राहतसहित नेपाली सेनाको जहाज पठाएको छ।

नेपाली सेनाको सीएन–२३५ विमान बुधबार बिहान बंगलादेश हुँदै म्यानमार पुगिसकेको छ। ७.७ म्याग्निच्यूडको विनाशकारी भूकम्प का कारण ठूलो क्षति पुगेपछि नेपाल सरकारले राहत तथा उद्धार सहयोगस्वरूप सेनाको मेडिकल टोली पठाउने निर्णय गरेको थियो।

सैनिक प्रवक्ता गौरवकुमार केसी का अनुसार, नेपाली सेनाको जहाज पहिलो पटक म्यानमार गएको हो। “छिमेकी मुलुकमा प्राकृतिक विपत्तिको बेलामा नेपाली सेनाको जहाज परिचालन भएको सम्भवत: यो पहिलो पटक हो।”

उक्त उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरा सहित ५ जना चालकदलका सदस्य थिए। सेनाको १६ सदस्यीय टोली, जसमा १२ जना मेडिकल विशेषज्ञहरू रहेका छन्, अहिले म्यानमारमा उद्धार तथा घाइतेहरूको उपचारमा खटिइरहेका छन्।

सैनिक टोली कम्तीमा ६ दिन त्यहाँ बसेर उद्धार तथा राहत कार्यमा सक्रिय रहने छ। नेपाली सेनाको जहाज भने बिहीबार नेपाल फर्किने तय भएको छ, तर सैनिक मेडिकल टोली भने म्यानमारमै रहनेछ। सेनाको अर्को जहाज चैत २६ गते फेरि नेपालबाट बंगलादेश हुँदै म्यानमार जाने तालिका रहेको छ।

म्यानमारमा रहेका नेपालीभाषी समुदायका लागि पनि यो सहयोग महत्वपूर्ण मानिएको छ। “यो हाम्रो देशको तर्फबाट आपसी सहकार्य र सहानुभूतिको प्रतीक हो,” सैनिक प्रवक्ता केसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *