चीनले सार्वजनिक यातायातको क्षेत्रमा नयाँ आयाम थपेको छ। चीनले पहिलोपटक उड्ने ट्याक्सीका लागि व्यावसायिक सञ्चालनको अनुमति दिएको हो।
यसअघि विभिन्न कम्पनीले उड्ने ट्याक्सीको परीक्षण उडान गरिरहेका थिए।
हालै चीनको नियामक निकायले दुई कम्पनीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न ‘फ्लाइङ’ ट्याक्सीलाई अनुमति दिएको हो।
स्वचालित प्यासेन्जर ड्रोनका रुपमा चीनले अनुमति दिएको छ।
नास्डक र हेफि हे एयरलाइनलाई चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी)ले उडान अनुमति दिएको हो।
सीएएसीले यी दुई कम्पनीलाई गएको शनिबार उडान अनुमति दिएको सिन्ह्वाले जनाएको छ।
यो अनुमतिसँगै यी दुई कम्पनीले चालकबिनाकै उड्ने ट्याक्सीमार्फत यात्रुलाई सेवा दिन सक्ने छन्।
यात्रुलाई ओसारपसारका साथै उक्त उड्ने ट्याक्सीले सहरी क्षेत्रमा पर्यटकका लागि साइटसिन समेत गराउन सक्नेछन्।
यी दुवै कम्पनीले सेवा सञ्चालनपूर्व नियामकबाट अनुमतिको पर्खाइमा रहेका थिए।
यी कम्पनीले यसअघि नै उत्पादन, एयरवर्दिनेस सर्टिफिकेट र टाइप सर्टिफिकेट पाइसकेका छन्।
बेइजिङले केही महिनायता डेलिभरी ड्रोन ब्लम्पस तथा फ्लाइङ कारको प्रविधिका बारेमा निर्णयहरू लिँदै गएको थियो।
प्रविधिको प्रयोगमार्फत यात्रा तथा अन्य कामलाई सजिलो बनाउन यस्तो काम भइरहेको चीनको भनाइ छ।
चीनले उदाउँदो उद्योगका रुपमा प्रविधि क्षेत्रलाई लिएको र यही आर्थिक विकासको आधारका रुपमा आइरहेकाले उड्ने ट्याक्सीको व्यावसायिक अनुमति दिएको हो।
मार्चको सुरुवातमा चिनियाँ प्रधानमन्त्री ली क्वीङले नेसनल पिपल्स कंग्रेसलाई सम्बोधन गर्दै क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, सिक्सजी मोबाइललगायतका विषयमा सरकारले तीव्र रुपमा काम गरिरहेको बताएका थिए। चीनले यसलाई लो-अल्टिच्युड इकोनोमीको क्षेत्रका रुपमा लिएको छ।
२०२५ मा चीनको लो-अल्टिच्युड इकोनोमीको आकार १५ खर्ब युआनको हुने र २०३५ मा यो बढेर २५ खर्ब युआनको हुने अनुमान गरिएको छ।
फ्लाइङ ट्याक्सीलाई दिउँसोको समयमा मात्र उड्न पाउने र १ सय २० मिटरभन्दा बढी उचाइमा उड्न नपाउने व्यवस्था गरिएको छ।
यी ट्याक्सीले रनवे बिनै सीधा उडान गर्ने र अवतरण गर्ने क्षमता राख्छ।
गत वर्ष दुबईले पनि उड्ने ट्याक्सीको परीक्षण उडानको अनुमति दिएको थियो। तर हालसम्म दुबईले यस्ता ट्याक्सीलाई व्यावसायिक उडानको अनुमति भने दिएको छैन।
यसका साथै युरोपेली देश, अमेरिका, जापान तथा भारतीय कम्पनीले पनि उड्ने ट्याक्सी बनाइरहेका छन्। अमेरिकाले २०२४ मा उड्ने ट्याक्सी सञ्चालन गर्न दिने कानून बनाएको थियो।
Post Views: 184