नाडा र श्रम मन्त्रालयको भेट

मिति २०८१ फागुन १८ गते नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ।

सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेको र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो।

उक्त छलफलमा खासगरी अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र बाहिरको संभावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर मन्त्रालयहरू बीच सहकार्य गर्ने, सहमतिको लागि आन्तरिक र राष्ट्रिय स्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरूमा छलफल केन्द्रित रह्यो।

उक्त छलफलमा सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफ्नो धारणा राख्नुभयो।

सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिन्दम लाहिरीले समेत आफ्नो धारणा राख्नुभयो।

सो मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगार योग्य वातावरण सिर्जना गर्न अन्तर-तह/अन्तर-निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्देश्य राखेर सो सम्मेलन काठमाडौंमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको हो।

यसैगरी, सो मन्त्रालयले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहनेछ।

उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश पुरी, प्रदीपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइरालासमेतको उपस्थिति रहेको थियो।

यसै सिलसिलामा, आजै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले सो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रूपमा छलफल भएको छ।

सो कार्यका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ।

गत जनवरी १७ देखि २२ सम्म भारतको नयाँदिल्लीमा सम्पन्न भारत मोबिलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एशोसिएशन (एसीएमए), एयसडिसी, र एनएडिए बीच त्रिपक्षीय चार बुँदे सम्झौता समेत सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *