नेपाल एयरलाइन्ससँग ६ जहाज, चार ग्राउन्डेड

नेपाल एयरलाइन्सका ग्राउन्डेड पाँच जहाजमध्ये बिहीबार एउटा न्यारोबडी मर्मत गरेर अन्तर्राष्ट्रिय उडानमा फर्केको छ । अझै चारवटा जहाज भने ग्राउन्डेड छन् ।

दुईवटा वाइबडीमध्ये ‘९एन–एलवाई’ बेलायतबाट पार्टपुर्जा ल्याएर मर्मत गरेपछि बिहीबार काठमाडौं–दिल्ली उडान थालेको निगमका प्रवक्ताद्वय रमेश पौडेल र मनोजकुमार पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

ग्राउन्डेड अवस्थामा रहेका अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ९एन–एकेडब्लू र ९एन–एकेएक्स शनिबारबाट नियमित उडानमा फर्किने निगमको दाबी छ ।

तर, निगमले दाबी गरेजस्तो विमानहरू छिटै मर्मत गरेर उडान गर्न फर्कने गरेका छैनन् ।

चीनको सेङयाङमा ५सि–चेक सम्पन्न भए पनि एकेडब्लू विमान नियमानुसार गर्नुपर्ने कस्टम क्लियरेन्सको प्रक्रियामा समस्या आएर ल्याउन नसकिएको निगमको दाबी छ ।

यो विमानलाई पुनः उडान अनुमति लिएर शनिबार चीनबाट काठमाडौं ल्याई नियमित उडानमा लैजाने निगमले जनाएको छ ।

तर, समयमै मर्मतको भुक्तानी दिन नसक्दा जहाज ल्याउन नसकेको निगम स्रोतको भनाइ छ ।

चीनमा ५सि–चेकमा ढिलाइ तथा अन्य कारणबारे अध्ययन गरेर कमी–कमजोरी भेटिएमा कर्मचारी, मेन्टेनेन्स एन्ड रिपेयर अर्गनाइजेसन (एमआरओ) र एजेन्टसमेतलाई कानुनी कारबाहीको सिफारिससहित प्रतिवेदन पेस गर्न ११ फागुनमा तीन सदस्यीय छानबिन समिति गठन गरेको निगमले जनाएको छ ।

निगमको अर्को न्यारोबडी एकेएक्कसको नोज ल्यान्डिङ गियरमा प्राविधिक समस्या देखिएर ग्राउन्डेड छ ।

निगमको विज्ञप्तिमा भनिएको छ, ‘ल्यान्डिङ गियर मर्मतका लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी दिल्लीस्थित एयर इन्डिया इन्जिनियरिङ सर्भिसमा मर्मतका लागि लैजाने योजना छ, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट काठमाडौं–दिल्ली ‘फेरि फ्लाइट’को अनुमति प्राप्त हुनेबित्तिकै मर्मतका लागि दिल्लीतर्फ लैजाने र आवश्यक मर्मतपश्चात् शनिबारदेखि नियमित उडानमा रहनेछ ।’

निगमले आन्तरिक उडान गर्ने एउटा ट्विनअटर ९एन–एबियूमा आवश्यक इन्जिन इन्स्टलेसन गरेर २० फागुनबाट नियमित उडानमा जाने दाबी गरेको छ ।

त्यसको अर्को साता दोस्रो ट्विनअटर विमान ९एन–एबिटीको पनि इन्जिन जडान कार्य सकेर नियमित उडान सञ्चालन गर्ने निगमले जनाएको छ ।

यी दुवै जहाज इन्जिनको उडान आवर सकिएर ग्राउन्डेड गरिएको हो ।

ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि ग्राउन्डेड छन् ।

उडानमा रहेका दुवै जहाज एकसाथ ग्राउन्डेड हुँदा निगमको आन्तरिक उडान महिनौँदेखि ठप्प छ ।

व्यवस्थापन नेतृत्वले समयमै भाडाको इन्जिन जोहो गर्न तथा बिग्रिएको इन्जिन मर्मतमा हेलचेक्र्याइँ गर्दा निगम आन्तरिक उडानविहीन बन्न पुगेको हो ।

६ वटा जहाजको अवस्था
– वाइडबडी ९एन–एएलवाईको बेलायतबाट पार्टपुर्जा ल्याई मर्मत गरेर बिहीबारदेखि उडान सुरु
– न्यारोबडी ९एन–एकेडब्लू चीनमा मर्मत हुँदै
– न्यारोबडी ९एन–एकेएक्सको नोड ल्यान्डिङ गियर बिग्रेर बसेको छ
– ट्विनअटर ९एन–एबियूको इन्जिन बिग्रेको छ
– ट्विनअटर ९एन–एबिटीको इन्जिन मर्मत भर्खरै सकियो
– वाइडबडी ९एन–एएलजेड मात्रै नियमित उडानमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *