सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङको शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको छ । एक हजार १२६ मिटर दूरीको सुरुङमार्गको प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका हुन् ।
सुरुङमार्ग आयोजना कार्यालयका अनुसार ‘ब्रेक थ्रु’ हुँदासम्म भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत छ । यो सात अर्बभन्दा बढी लगानीको परियोजना हो । सुरुङको तीनवटै बाइपासको ‘ब्रेक थ्रु’ पुसको पहिलो साता नै भएको थियो । त्यसयता मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
बालुवाटारबाट भर्चुअल सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकारले विकासलाई तीव्रता दिने बताए । पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीलाई राहत दिन सिद्धबाबा सुरुङ एक सफल आयोजना साबित हुने बताउँदै ओलीले यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदान–प्रदान गर्न शुभकामना दिए ।
‘सुरुङमार्ग ब्रेक थ्रु हुनु पाल्पा, गुल्मीलगायत यस क्षेत्रका बासिन्दाका लागि मात्रै नभएर सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजोझैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनु छ,’ ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुरामा सरकारको ध्यान जानेछ । हाम्रा प्रयास यसैतर्फ केन्द्रित छन् ।’
नेपाल हिजोजस्तो दुर्गम नरहेर सुगम बनाउनेतर्फ सरकार केन्द्रित रहेको धारणा प्रधानमन्त्री ओलीले राखे । कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी थिए ।