बुटवल-गोरुसिङ्गे सडक विस्तार: बुटवल–गोरुसिङ्गे सडकको विस्तारको काम एक महिनापछि सुरु हुने भएको छ। यो सडक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो छ।
अहिले माटो परीक्षण, निर्माण सामग्रीको व्यवस्थापन, र सडकको नाप जाँचका कामहरू चलिरहेका छन्।
बन मन्त्रालयले रुख काट्नको अनुमति दिएपछि रुखको मार्किङ पनि भइरहेको छ, बुटवल–गोरुसिङ्गे सडक परियोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन्।
यो सडक विस्तारको काम चीनको सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र चितवनको आशिष निर्माण सेवा जेभीले गर्नेछन्।
१३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ३ वर्षभित्र काम पुरा गर्ने सम्झौता गत असार १३ गते भएको थियो।
न्यौपानेले भने, “अहिले तयारीका काम भइरहेको छ र माघ महिनाबाट औपचारिक रूपमा काम सुरु हुनेछ।”
निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र काम गर्न अनुमति दिइने भएकाले तयारीको काम तीव्र गतिमा भइरहेको छ।
सवारी र यात्रुलाई सास्ती नहोस् भनेर अहिलेको पिच नफालिकन दायाँ-बायाँका काम गरेर बीचको सडक पछि बनाउन तयारी गरिएको छ।
यो सडक २०१९ सालमा बनेको थियो र ६२ वर्षपछि विस्तार गर्न लागेको हो।