बीपी राजमार्ग पुनःनिर्माणको अध्ययन अझै सकिएन: काठमाण्डौंलाई पूर्वसँग जोड्ने बीपी राजमार्ग बाढीले क्षति पुर्याएको ६० दिन बितिसक्दा पनि सरकारले अझै पुनःनिर्माणका बिकल्पहरुबारे प्राविधिक अध्ययन सम्पन्न गर्न सकेको छैन् ।
गत असोज दोस्रो साताको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले सबैभन्दा बढी क्षति पुगेको बीपी राजमार्ग (धुलिखेल–बर्दीबास) पुनर्निर्माणबारे सरकारले बल्ल अध्ययन थालेको छ ।
सडक विभागले प्राविधिक टोली फिल्ड खटाएर अध्ययन गरिरहेको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । ‘प्राविधिक टोली फिल्डमै छ,’ उनले भने, ‘यो टोलीले दिने प्रतिवेदनका आधारमा पुनर्निर्माणको ढाँचा अगाडि बढ्छ ।’
यो राजमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बनेको हो । बाढी–पहिरो लगत्तै जाइकाको प्राविधिक टोलीले समेत स्थलगत अध्ययन गरेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार जाइकाको टोलीले दुई पटकसम्म यो सडक अध्ययन गरिसकेको छ । जाइकाले गरेको उक्त अध्ययन प्रतिवेदन भने आइसकेको छैन ।
‘विभागको प्राविधिक टोलीले प्रतिवेदन दिएपछि सोही आधारमा प्रक्रिया अगाडि बढाउने छौं,’ महानिर्देशक पोखरेलले भने ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक चौकीडाँडादेखि सिन्धुली बर्खेखोलासम्म बढी क्षति छ । यस सडक खण्डमा कतै सडक पूरै बगेको अवस्था समेत छ ।
‘कतिपय स्थानमा अहिले डाइभर्सन गरी अस्थायी रूपमा सडक सूचारु छ,’ उनले भने, ‘यसलाई स्थायी रूप कसरी दिन सकिन्छ भन्नेबारे प्राविधिक टोलीले अध्ययन गर्ने छ ।’
११ र १२ असोजको वर्षाले क्षति गरेको राजमार्ग दुई सातापछि मात्र अस्थायी चलेको थियो । अहिले पनि निर्वाध चल्न भने सकेको छैन । काठमाडौंलाई मध्यपहाड र पूर्वी नेपालसँग जोड्ने छोटो र भरपर्दो राजमार्गमा बाढी–पहिरोले क्षति गरेपछि स्थानीय स्तरमा खोला फर्काएर अहिले अस्थायी बाटो निर्माण गरिएको छ । त्यसमा पुल निर्माण, भित्ता काट्ने सम्भावना वा अन्य विकल्पबारे प्राविधिक टोलीले अध्ययन गर्ने छ ।
भक्तपुर कार्यालयका अनुसार रोशी खोलाले बीपी राजमार्गमा अधिक क्षति गरेको छ । चौकीडाँडादेखि नेपालथोकसम्मको २१ किलोमिटर सडकभित्र ८ किलोमिटरभन्दा बढी क्षतिग्रस्त छ । यो सडक पुनर्निर्माण गर्नमात्र २ अर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान छ ।
असोज बाढीले अर्थतन्त्रमा कुल ४६ अर्ब ६८ करोड बराबर क्षति गरेको छ । जसमध्ये पूर्वाधारमा मात्र ३९ अर्ब बराबरको क्षति गरेको छ । देशभरि ४१ स्थानका सडकमा क्षति पुगेको र यसको क्षति २ अर्ब ७९ करोड बराबर रहेको अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ ।
त्यस्तै सार्वजनिक यातायाततर्फ ८४ संरचनामा ७२ करोड रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ ।
बीपी राजमार्ग निर्माण गर्दा प्रतिकिलोमिटर ३५ करोड रुपैयाँ बराबर लागत थियो । जापान सरकारको अनुदान सहयोगमा २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दीबास १ सय ६० किलोमिटर सडक) निर्माण सुरु गरिएको थियो । यो राजमार्ग १८ असार २०७२ मा औपचारिक रूपमा जापान सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण भएको थियो ।