धरहरामा कति छन् निर्माण हुन बाँकी संरचना ?: सरकारले धरहरा सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन ।
धरहरा परिसरमा रहेको सुन्धारा, पुरानो धरहरा संरक्षणको काम अझै सुरु नभएको सहरी विकास मन्त्रालय कामु आयोजना निर्देशक प्रकाश अर्यालले बताए ।
‘अहिले सिङ्गो धरहरा निर्माण भए पनि धरहरा परिसरका संरचना पार्किङ, अर्थक्वीक म्युजियम, वाटर ट्रिटमेन्ट प्लान्ट, लाइट जडानका काम अझै सकिएका छैनन्,’ निर्देशक अर्यालले भने, ‘सुन्धारा निर्माण र पुरानो धरहरा संरक्षणको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।’
पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालनमा ल्याए ।
तत्काल परीक्षणका रूपमा सर्वसाधारणका लागि धरहरा निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो ।
तर यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको छ ।