लुम्बिनीमा ३ अर्बको इन्धन डिपो बनिरहेको छ

लुम्बिनीमा ३ अर्बको इन्धन डिपो बनिरहेको छ: नेपाल आयल निगमले रुपन्देहीको भलबारीस्थित लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डिपो) रोहिणी नदीको किनारामा सार्ने तयारी गरेको छ ।

निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने रोहिणी नदीको किनारमा डिपो निर्माणको काम अघि बढाएको छ ।

निगमले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा स्थानान्तरण गरिनेबारे उल्लेख गरेको थियो । निगमका प्रबन्धक तथा  परियोजनाका संयोजक रामहरि निरौलाले दीर्घकालीन रूपमा आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न भण्डारण क्षमता बढाउनुपर्ने भएकाले स्थानान्तरण गर्नैपर्ने बताए ।

‘भण्डारण क्षमता वृद्धिले आपूर्ति व्यवस्थित गर्नेमात्र नभएर दीर्घकालीन रूपमा भविष्यमा ऊर्जा सङ्कट तथा ऊर्जा सुरक्षाको लागि सहयोग पुग्ने देखिएको छ,’ प्रबन्धक निरौलाले भने, ‘प्रविधियुक्त डिपो निर्माणका लागि पनि स्थानान्तरण गर्न आवश्यक देखिएको छ ।’

यसैगरी निगमका उपनिर्देशक तथा भण्डारण गृह निर्माण आयोजनाका प्रमुख प्रदीप यादवले २०८४ मङ्सिरसम्म सो स्थानमा स्थानान्तरण गरिसक्ने हिसाबले डिपो निर्माण गर्न लागिएको बताए ।

पहिलो चरणमा खोलाको किनारमा जग्गा भएकाले पानी आउन नदिन जग्गा सम्म्याउने र रिटेनिङ वाल लगाउने काम गर्न थालिएको यादवले बताए ।

‘खोलाको किनारामा जग्गा भएकाले खतरा छ कि छैन भन्नेबारेमा इन्जिनियरलाई अध्ययन गराएर निर्माण गर्न लागेका हौँ । जग्गा सम्म्याएर दुई मिटर उचाइको पर्खाल लगाएपछि डिपो निर्माण गर्छौँ,’ यादवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *