प्रसाईंको गाडीले घाइते मेहताको मृत्यु: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्।
कात्तिक २५ गते, व्यवसायी दुर्गा प्रसाईं सवार गाडीले कोशी–३ स्थित नहर चौकमा मोटरसाइकललाई ठक्कर दिँदा ६० वर्षीय फुलेश्वर मेहताजी घाइते भए।
उनलाई भोक्राहा–५ स्थित सप्तकोशी न्युरो अस्पतालमा ल्याइयो, तर अस्पतालको लापरबाहीका कारण बिरामीको अवस्था झन बिग्रिएको थियो।
त्यसपछि उनलाई विराटनगरस्थित नोवेल अस्पताल पठाइयो, जहाँ उपचारका क्रममा उनकाे निधन भएको थियो।
मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीका कारण बुबाको मृत्यु भएको आरोप लगाएका छन्।
मृतककी छोरी किरणकुमारी मेहताले अस्पतालको लापरबाहीका कारण बुबाको मृत्यु भएको भन्दै भोक्राहा–४ स्थित पूर्व पश्चिम राजमार्गमा शव राखेर विरोध प्रदर्शन गरिन्।
अस्पताल प्रशासनले गाडीको ठक्करबाट घाइते भएका बुबाको अवस्था सामान्य रहेको बताए पनि पछि समस्या भएको भन्दै अर्को अस्पताल पठाएको थियो।
मृतककी अर्की छोरी रिकिता मेहताले भनिन्, “अस्पतालले औषधिको ‘ओभरडोज’ ले समस्या बढेको थाहा पाएपछि हामी विरोधमा उत्रिएका हौं।”
पीडित परिवारले चक्काजाम गरेपछि, यातायात सञ्चालनमा आएको छ। क्षतिपूर्ति र रोजगारीको विषयमा सहमति भएपछि चक्काजाम हटाइएको हो।
अस्पतालले नगद ८ लाख र इन्स्योरेन्सबाट ५ लाख गरी १३ लाख रुपैयाँ दिने सहमति गरेको छ।
कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारीका अनुसार, अस्पतालले शैक्षिक योग्यताअनुसार परिवारका दुई सदस्यलाई रोजगारी दिने र परिवारका सबै सदस्यको जीवनभर उपचार गर्ने सहमति पनि भएको छ।
अस्पतालले भने उपचारमा कुनै लापरबाही नगरेको दाबी गरेको छ।
Visit homepage : eautonepal.com