एयर इन्डियाको जहाजमा बम राखेको हल्ला मात्रै: काठमाडौंबाट नयाँ दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना हल्ला मात्रै रहेकाे पुष्टि भएकाे छ।
नेपाल आर्मीकाे सर्च अपरेसनपछि जहाजमा बम नभेटिएकाे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।
बम राखेको सूचना गलत भएपछि ‘होस्क कल’ घोषणा गरी दिल्ली उडानका लागि रिलिज गरिएको उनले बताए।
काठमाडौंमा कार्यरत एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई दिउँसो ३ः१२ बजेतिर जहाजमा बम राखेको भन्दै अज्ञात नम्बरबाट फोन आएपछि यात्रु झारेर चेकजाँच गरिएको थियो।
दिल्ली जान जहाज चढिसकेका ४० यात्रुलाई झारेर सर्च अपरेसन गरेपछि उक्त सूचना गलत साबित भएको हो।
दिउँसो २ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज ३ः५५ बजे दिल्लीका लागि उडान गर्ने तालिका थियो।
दिल्लीबाट आएका यात्रु झारेर दिल्ली जाने यात्रुहरू चढाइरहेका वेलामा बम राखेको सूचना आएको थियो।
कसैले बम राखेको सूचना दिएपछि सुरक्षार्मीले जहाज नियन्त्रणमा लिएर चेकजाँच गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रोटोकल छ।
आर्मीले सर्च गरेर ‘होस्क कल वा फेक कल’ घोषणा नगर्दासम्म जहाज उडानका लागि रिलिज गरिँदैन।
यसअघि भारतकै भिस्टारा एयरलाइन्सको काठमाडौं आएको जहाजमा पनि बम राखेको हल्ला फैलाइएको थियो।
जहाज सर्च गर्दा बम नभेटिएपछि होस्क कल घोषणा गरी जहाज उडानका लागि रिलिज गरिएको थियो।
पछिल्लो समय विभिन्न गन्तव्यहरूमा उडेका भारतीय वायुयानमा बम राखेको हल्ला फैलाउने काम भइरहेको छ।
अहिलेसम्म जहाजमा बम राखेको भन्दै एक सयभन्दा बढी होस्क कल आइसकेकोको भारतीय मिडियाले जनाएका छन्।
बम राखेको गलत सूचनाबाट एयर इन्डिया र भिस्टारा एयरलाइन्स सबैभन्दा बढी प्रभावित भएका छन्।
यी दुवै वायुसेवा टाटा ग्रुपको स्वामित्वका हुन्। टाटा ग्रुपले दुवै एयरलाइन्स मर्ज गरेर विश्वकै ठुलो वायुसेवा प्रदायक कम्पनी बनाउने घोषणा गरेको छ।
वायुसेवा कम्पनीलाई बद्नाम गराउन र यात्रुहरूलाई दुःख दिने मनसाय राखेर यसरी अफबाह फैलाउने काम भइरहेको हुन सक्ने भारतीय सुरक्षाकर्मीको अनुमान छ।
अहिलेसम्म हल्ला फैलाइएका कुनै पनि वायुयानमा ‘बम’ भेटिएको छैन।
Visit homepage : eautonepal.com